|
|
मंसिर २, २०७२- भारतीय नाकाबन्दी र इन्धन अभावका कारण आफ्ना उत्पादन बिक्री नभएपछि काभ्रेका किसानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कोसेली’ पठाएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले ज्ञापनपत्र र बिक्री नभएका कृषि उपज प्रधानमन्त्रीलाई कोसेली पठाएका हुन् ।
किसान संघ काभ्रेका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई बन्दा, मूला, धनिया लगायतका तरकारी र बिग्रेको खुवा हस्तान्तरण गरे । ‘इन्धन नहुँदा खेत जोत्न पाइएन,’ उनले भने, ‘फलेका तरकारी र दुग्ध उत्पादन पनि बजारसम्म ल्याउन पाइएन ।’
किसानहरुले तत्काल रासायनीयक मलको पर्याप्त व्यवस्था गर्न, उत्पादनको सहज बिक्री वितरणको व्यवस्था मिलाउन र खेत जोत्ने ट्याक्टरको लागि तेल उपलव्ध गराउन माग गरेका छन् । सहायक प्रजिअ शर्माले देशले नै समस्या भोगेको व्यक्त गर्दै किसानको समस्या समाधान गर्नको लागि आफूले सक्दा पहल गर्ने बताए ।
इन्धन सहज नभएको भन्दै खेत जोत्ने ट्याक्टरले इन्धन नपाउादा खेत जोत्न किसानले पाएका छैनन् । कृषि कार्यलयको तथ्यांक अनुसार ६१ हजार ५ सय ९८ खेतीयोग्य जमिनमध्ये ४८ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा खेति गरिएको छ । रसायनिक मलको पनि जिल्लामा अभाव छ । इन्धनको अभाव लगायतका कारण देखाउँदै व्यापारीले किन्न नमानेपछि किसानहरु चार गुणा कम मूल्यमा तरकारी बेच्न बाध्य छन् ।
यो सिजनमा आलु ८० रुपैँया धार्नी, गोलभेडा प्रतिकिलो १५ र काउली प्रतिकिलो १० रुपैँयामा बिक्री भइरहेको छ । राजधानीको तरकारीको करिब १५ प्रतिशत हिस्सा काभ्रेले ओगटेको छ । दैनिक ९० टन तरकारी काभ्रेबाट राजधानी भित्रन्छ । काभ्रेमा ९ हजार ७ सय २० हेक्टर क्षेत्रफलबाट वार्षिक १ लाख ६२ हजार ८ सय १० मेट्रिकटन तरकारी उत्पादन हुन्छ । जिल्लामा दैनिक ४ लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । २ लाख १० हजार लिटर दूध राजधानी भित्रने गरेकोमा इन्धनको अभावको कारण सो प्रभावित भएको छ । श्रोत इकान्तिपुर
प्रकाशित: मंसिर २, २०७२
