|
|
बागलुङ, ३ मंसिर/लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेर छुटेका युवक रविन पूनको सातापछि मृत्यु भएपछि जिल्लामा उत्पन्न तनाब र आरोप प्रत्यारोपको प्रहरीले खण्डन गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले उक्त घटनामा प्रहरीले कुटपिट गरेको भन्ने हल्ला भ्रामक भएको बतायो । तंग्राम घर भई बागलुङ बजारमा बस्दै आएका २१ बर्षिय रविन पुनको गत कात्तिक २८ गते मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाईबाट रहस्यमय मृत्यु भएको आरोप लगाउदै आएका थिए । युवकलाई पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि लगेको समयमा मृत्यु भएपछि आफन्त र प्रहरीविच तनाव बढेको थियो । प्रनाउ चक्रबहादुर सिंहले पत्रकार सम्मेलनमा प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको र त्यसको ५ दिनपछि विरामी भएर उपचारका लागि गएपछि मृत्यु भएको बताए ।
‘ज्वरो आएको कारणले उपचारका लागि बागलुङको अस्पतालमा गएको र पछि पोखरामा मृत्यु भएको पाइयो’ सिंहले भने, ‘प्रहरीले कुटपिट गरेको भन्ने आरोप र प्रचारमा ल्याइएका फोटोमा सत्यता छैन ।’ त्यतिधेरै निलडाम र कुटाई भएको मानिस प्रहरीमा तारेख खेप्न र अस्पतालमा उपचार गर्न हिडेर जान नसक्ने उनले दाबी गरे । कात्तिक १९ गते लागूपदार्थ दुव्र्यसनको आरोपमा पक्राउ गरेको प्रहरीले सोधपुछ पछि छाडेको उनले बताए । युवकको मृत्यु भएपछि प्रहरीले कुटेर मृत्यु भएको भन्दै आफन्तले कारवाहीको माग गरेका छन् । उनीहरुले उचित क्षतिपूर्तिको माग पनि गरेका छन् । ‘ल्याएर एक घण्टा गोलघरमा सोधपुछपछि उसकै दाइको जिम्मा लगाएर पठाएको हो’ सिंहले भने, ‘लागू औषधको अत्याधिक प्रयोग गरेर अन्तिम अवस्थामा पुगेको देखेपछि हिरासतमा नराखि फिर्ता पठाएको हो ।’ आफन्तले ट्राफिक कार्यालयमा लगेर पक्राउमा सहभागि तथा घुमुवा प्रहरीले निर्घात कुटेको आरोप लगाई दोषिमाथी कारवाही गर्नुपर्ने माग गरेका छन् । सोमबार र मंगलबार आफन्तले सदरमुकाममा विरोध प्रदर्शन पनि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर ४÷५ घण्टासम्म गोप्य स्थानमा लगेर कुटेपछि मात्र जिल्ला प्रहरीमा लगेको आफन्तको भनाई छ । प्रहरीले भने उक्त दिन कार्यालयमा विशेष कार्यक्रम भएकोले पुनको आफन्तको घरमा लगेर सोधपुछ गरिएको र पछि परिवारकै जिम्मा लगाएको बतायो । मणिपाल अस्पतालमा मृत्यु भएका पुनको शवको पोष्टमार्टम गरेर ल्याउन पनि आफैले आग्रह गरेको पनि सिंहले बताए । ‘कुटपिटको चर्चा चलिसकेपछि मैलेनै पोष्टमार्टम् गराउन भनेको हुँ’ सिंहले भने, ‘रिपोर्टले के बोल्छ, त्यस विषयमा छानविन गर्न प्रहरी तयार छ ।’ मृतकका आफन्तले जाहेरी दिएमा प्रहरीले आवस्यक छानविन गर्न तयार रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मृतकका परिवारले भने मंगलबार वेलुकी शवको सतगत गरेका छन् । प्रहरीले केही दिनदेखि सदरमुकाम र बजार क्षेत्रमा लामो कपाल पाल्ने, मदिरा तथा धुमपान गरी होहल्ला गर्ने लगायतलाई समातेर कपाल काट्न दबाव दिन थालेको छ । साथै मोटरसाइकल तीव्र गतीमा चलाउनेलाई पनि नियन्त्रणमा लिएर सम्झाइ बुझाइ पठाउन थालेको सिंहले बताए । अर्को प्रसंगमा सिंहले जिल्लाभित्र लागूपदार्थ सेवनकर्ता बढ्दै गएको तथा ओसारपसार गर्ने, विक्रि गर्नेहरु पनि बढेकोले खोजी अभियान थालेको समेत बताएका छन् । कात्तिक १९ गते पुनको घरमा प्रहरीले सर्च गर्ने अभियानका लागि गएको पनि उनले स्पष्ट पारेका छन् । ‘दर्जनौं सेवककर्ता युवाले पुनसँग किनेर लागूपदार्थ खाएको बताएपछि प्रहरी पुगेको हो’ सिंहले भने, ‘तर धेरै लागूपदार्थ भेट्न भने सकिएन ।’ भेटिएका केही सुइ, रगत लागेका कपडालाई प्रहरीले नष्ट गरेको उनले बताए । जिल्लाका युवाहरुमा लागूपदार्थ सेवन र विक्रि वितरण बढ्न थालेको सुइको पाएर प्रहरीले खोजी अभियानलाइ तीव्रता दिएको समेत उनले बताए ।
